जनता टाइम्स

१७ असार २०८१, सोमबार ००:३७

बिश्वबजारमा पर्याउने लक्ष्यसहित काठमाडौं महानगरले सुरु गर्यो स्थानीय पेय पदार्थको सम्भाव्यता अध्ययन


काठमाडौं, असार १७ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेयपदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरियतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो कार्यक्रमलाई कामपा सहकारी विभागले अगाडि बढाएको हो । ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था गरेर सम्भावनालाई नतिजामा रुपान्तरण गर्नेछौँ,’ कामपा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो ।

उहाँले पेयपदार्थ उत्पादनका लागि आवश्यक कच्चापदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, कामपाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुनेछ । पहिलो चरणको अध्ययन सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ । त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ ।