जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार ०८:०७

बडादशैं अन्तर्गत आज महाअष्टमी पर्व, यस्तो छ महाकालीको पूजा विधि


काठमाडौं, असोज १९

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनु भयो ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ। यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो। देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरूले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

महाकालीको पूजा र विधि

महाकाली माताको साधना सन्यासी र तान्त्रिकहरुले पनि गर्ने गर्छन्। महाकालीको उपसनाको लागि मूर्ति वा तस्माविर स्वच्छ र पवित्र स्थानमा राख्ने र सफा (चोखो) पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने गरिन्छ। १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्नु पर्ने हुन्छ। आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनु सकिने धार्होमिक मान्स्यता रहिआएको छ। महाकालीको पूजाबाट तुरुन्त लाभ मिल्ने विश्वास रहँदै आएको छ। कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीपति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।