जनता टाइम्स

१९ असार २०८१, बुधबार २३:१५

कसैलाई माया गरी एउटा भूल गरें मैले..


प्रधानमन्त्रीको अनुहारमा देखिएको भाव र पश्चाताप अनि मलिन स्वरमा निस्किएको कविताको लयमा निस्किएको केही हरफ गीतबाटै बुझन सकिन्छ । सायरीको लयमा गुनगुनाएका गीतको सारले सायद उहाँले आफ्नो गल्तीको पश्चाताप गरिरहनु भएको महसुस सहजै गर्न सकिन्छ । आफ्नै काम कहिलेकाँही कतिसम्म घातक बन्दोरहेछ भन्ने सत्यलाई बुधवार बेलुका प्रधानमन्त्रीले प्रष्टै महसुस गरिरहेको प्रष्ट देखिएको छ ।

गणेश बस्नेत

एकै पटक, एकै समयमा दुईतिर माया पिरती गाँस्न र पार्टनरलाई उल्लु बनाउन खप्पिस प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यतिबेला त्यही माया पिरती पासो बनेको छ । आफैलाई समाप्त पार्ने त्यो पासेमा जकडिएपछि उहाँको दिनचर्या पनि आजभोलि निकै अस्तब्यस्त र पीडादायी बनेको छ । त्यही कारण होला शनिवारयता उहाँ राम्रोसँग निदाउन त के ? खानासमेत राम्रोसँग निल्न सकिरहनु भएको छैन । अनुहार र आँखाले उहाँको पीडादायी दिनचर्यालाई छ्याङ्गै पारिरहेको छ ।

पुत्र र पत्नीबियोगको समयमा समेत आँखामा आँसु दवाएर कठोर र पीडा सहन सक्ने ब्यक्तिको उपमा पाउनु भएका दाहाल केहीदिन यता मुस्कान दिन बिर्सनु भएको छ । अरुलाई छक्याउन, झुक्याउन र उल्लु बनाउने कला आफूमा मात्र रहेको दृढ बिश्वासमा रहनुभएका प्रधानमन्त्री दाहाल यतिबेला आफ्नै त्यो कला अर्थात बेइमानीको अश्त्रबाट मर्माहत बन्नुभएको छ । हुँदाखाँदाको सत्ता गुमाउनु परेको छ । त्यसैले त होला अव फर्केर प्रधानमन्त्रीको कुर्सीमा आउन सक्दिन भन्ने निश्कर्षका साथ झण्डै दुईतिहाईको सरकार बन्ने अवस्था देख्दादेख्दै एक महिना भए पनि सत्ता लम्ब्याउँछु भनेर बाल हठ गरिरहनु भएको छ ।

चलचित्र क्षेत्रमा नाम र दाम दुवै कमाएकी मोरङ गोठगाऊँकी चेली नायिका रेखा थापासँग ‘कि लाऊ माया मैतिर, कि लाऊ उइतिर निर नलाउ दुईतिर’ भन्दै भद्रकालीतिर नाचेपछि दाहाल आफै दुईतिर माया पिरती लगाउने कलामा खप्पिस हुनुभयो । अनेकन प्रमाण पनि दिनुभयो । तर यसपटक भने दुईतिर माया पिरती लगाउँदा बाहिरकाले त छाडेछाडे, घरतिरकाले पनि अति भयो, सुधार्न सकिन्न भन्ने निर्णय लिएर छाडिदिए । जव घरकाले नै छाडिदिएपछि घर न घाटको हुनु स्वभाविक थियो । पश्चातापको बिकल्प थिएन । प्रधानमन्त्री दाहाल पनि अहिले पश्चाताप गरिरहनु भएको छ ।

त्यो पश्चाताप बुधवार बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र लिएर राजीनामा बुझाउन आएका एमाले मन्त्रीहरुको सामू एकाएक पोखियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठको नेतृत्वको एमालेका ८ मन्त्री । टोलीमा हुनुहुन्थ्यो–भगवती चौधरी, ज्वालाकुमारी साह, पदम गिरी दामोदर भण्डारी, राजेन्द्र राई, बलराम अधिकारी र हरि उप्रेती ।

उहाँहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासको बैठक कक्षमा करिव ८ मिनेट रहँदा प्रधानमन्त्री दाहालको अनुहारले पश्चातापको प्रष्ट तस्विर देखायो । मन्त्रीहरु हिडनै लाग्दा प्रधानमन्त्रीको मुखबाट एकाएक सायरीको लयमा गीत गुञ्जियो

कसैलाई माया गरी एउटा भूल गरें मैले !
यस्तो पनि हुँदोरैछ जिन्दगीमा कहिले–कहिले !!

प्रधानमन्त्री दाहालको मलिन स्वरमा आएको फत्तेमानको यो गीत  सुनेपछि एमाले मन्त्रीहरु पनि भावुक बने । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माया गरेको महसुस गराउनु भयो । तर माया केपी ओलीलाई गर्नुभएको हो कि प्रधानमन्त्रीको कुर्सीलाई हो भन्ने कुराको यकिन हुन सकेन । एमाले मन्त्रीहरुको राजीनामासँगै प्रधानमन्त्री दाहालले समय कति बलवान हुन्छ र कसरी सजाँय दिन्छ भन्ने सत्यलाई बुधवार बेलुका अर्थात २०८१ असार १९ गते राम्रैसँग महसुस गर्नुभयो ।

अनुहारमा देखिएको भाव र पश्चाताप अनि मलिन स्वरमा निस्किएको केही हरफ गीतबाटै बुझन सकिन्छ । केही हरफ गीतमा ब्यक्त सारले सायद उहाँले आफ्नो गल्तीको पश्चाताप गरिरहनु भएको महसुस सहजै गर्न स्किन्छ । आफ्नै काम कहिलेकाँही कतिसम्म घातक बन्दोरहेछ भन्ने सत्यलाई बुधवार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झनु भयो ।

एमाले मन्त्रीहरु राजीनामा पत्र बोलेर बेलुका ८.१४ प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री निवासको बैठक कक्षमा भेटे । बुलुका ८ बजेर १४ मिनेटमा बैठक कक्षमा प्रधानमन्त्रीसँग भेट गरी ८ मिनेटभित्रै आफ्नो राजीनामा पत्र र अध्यक्ष अ‍ेलीले पठाउनु भएको समर्थन फिर्ताको पत्र बुझाएर ८ बजेर २२ मिनेट जाँदा सवै मन्त्री निस्किए ।

काम गर्ने अवसर पाएकोमा धन्यवादसहित शिष्टता ब्यक्त गर्दै एमाले मन्त्रीहरु निस्कन लागेपछि धन्यवाद ! भन्दै प्रधानमन्त्री दाहालको मुखबाट गीत गुञ्जियो, ‘कसैलाई माया गरी एउटा भूल गरें मैले ! यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले–कहिले ! !’ प्रधानमन्त्रीको मुखबाट आएको यो सायरी सुनेपछि एमाले मन्त्रीहरु पनि केहीबेर अडिए । अनि तत्कालै राजीनामा स्वीकृत गर्न आग्रह गरे । तर जवाफमा अहिले सानका साथ झण्डा हालेरै जाँदा हुन्छ । स्वीकृत भोलि गर्ने हो । भन्दै प्रधानमन्त्री बिदावारी गर्नुभयो ।