रुपन्देही, असार २० । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र निर्माणको लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनु भएको छ ।
अनेरास्ववियु रुपन्देहीले एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो । उहाँले अब भरोसा र उत्साहका साथ कदम अगाडि बढाउने वातावरण बनेको पनि प्रष्ट पार्नुभयो ।
देशको समृद्धिका निम्ति योगदान गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने सङ्कल्पका साथ एमाले र कांग्रेसको बिच समझदारी बेनेको पौडेलले जानकारी दिनुभयो । हिजो देशमा समृद्धिको काम गर्न सफल हुनुभएका केपी आली केही दिनमा देशको प्रधानमन्त्री बन्न लाग्नुभएकोले अब देश समृद्धिको बाटोमा अघि बढ्ने पौडेलले प्रष्ट पार्नुभयो ।
‘त्यो सरकारले अरू क्षेत्रका समस्याका साथसाथै शैक्षिक क्षेत्रका समस्या पनि नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र त्यस भित्र रहेर राष्ट्र निर्माणमा योगदान दिने नेपाली विद्यार्थीको चाहना पुरा हुँदै छ’, पौडेलले भन्नुभयो ।
उहाँले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको पनि कामना गर्नुभयो । पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले नेपालको शैक्षिक क्षेत्रमा रुपन्देहीको महत्वपूर्ण योगदान रहेको बताउँदै यो अझै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्