जनता टाइम्स

२२ असार २०८१, शनिबार १२:५८

भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुरको शव फेला


चौतारा, २२ असार । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिनुभएको हो । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहनुभएको छ । उहाँहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

ढलानको संरचनाभन्दा तल्लो भागमा उहाँहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उहाँ बताउनुहुन्छ । उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो । ११ जनाको तत्काल उद्धार गरिएको थियो । उहाँहरु सबै घाइते छन् । उहाँहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।