जनता टाइम्स

२३ असार २०८१, आईतवार १५:२८

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस–एमाले सधै एक ठाउमा आउँछन् : योगेश भट्टराई


काठमाडौं, २३ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस( एमाले एक ठाउमा आउने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस–एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस–एमाले एक ठाउँमा आएको बताउनुभएको हो ।

देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस–एमालेबीच सहकार्य भएको स्पष्ट गर्नुभयो । उहाँले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो–प्रोफाइलमा बसेर सहयोग गरेको बताउदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाउनुभयो ।

उहाँले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस–एमाले मिलेर काम गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संबैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नु नै सहि निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गर्नुभएको थियो । सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गर्नुभयो ।