जनता टाइम्स

२३ असार २०८१, आइतबार १७:०९

प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं : एकीकृत समाजवादी


काठमाडौं,२३ असार । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ । आज पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकरी दिनुभएको हो ।

उहाँले भन्नुभयो,‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौं । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौं ।’

यस अघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी्ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत नआउने स्पष्ट हुँदाहुँदै पनि प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई अहिले रास्वपा र एकीकृत समाजवादीले साथ दिने बताएका छन् ।