काठमाडौं, असार २४ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने व्यवस्था गरेको छ । दुई कार्यकालसम्म बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधानको ब्यवस्थालाई आज बसेको महासंघको बैठकले उल्ट्याएको हो ।
यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।
यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने जानकारी दिनुभयो ।
यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्ने अध्यक्ष ढकालको भनाई छ । आफू वरिष्ठ उपाध्यक्ष उठ्दा अध्यक्ष ढकालले चुनावी नारामा यही विषयलाई प्रमुखताका साथ उठाउनु भएको थियो । मतदाताबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने ब्यवस्थाको वकालत गरेर बरिष्ठ उपाध्यक्ष जित्दै अध्यक्ष हुनुभएका ढकालले आफ्नो बाचा पूरा गर्दै कार्यसमितिबाट सर्वसम्मत रुपमा बिधानमा रहेको सो ब्यवस्था हटाउने निर्णय गराउनु भएको हो ।
संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा एक जना थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ । अध्यक्ष ढकालका अनुसार सोमबार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्काे कार्यकालबाट लागू हुनेछ । अहिले वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठपछि अध्यक्ष चयनका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्