जनता टाइम्स

२५ असार २०८१, मंगलवार १९:१२

संसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने


काठमाडौं, २५ असार । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरूसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो । आज समितिले सहकारी विभागका पूर्व रजिष्ट्रारदेखि हालका रजिष्ट्रारसँग सामूहिक छलफल गरेको थियो ।

छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताउनुभयो । त्यस्तै ऐन नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा वेवास्ता गर्दा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूको भनाइ थियो । सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँगको बैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।