जनता टाइम्स

२५ असार २०८१, मंगलवार २०:१२

कोही पनि अलमलमा नपर्नाेस, अव बन्ने सरकार ७६ (२) कै हुन्छ : शेखर कोइराला


काठमाडौं, असार २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार नै बन्ने बताउनु भएको छ । कोइरालाले कसैलाई मजा लागेर यो बिषय उठाउने गरेको भएपनि सरकार भने ७६ (२) अनुसार नै बन्ने प्रष्ट पार्नुभयो ।

काठमाडौंको जोरपाटीमा मंगलबार भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले यस्तो बताउनु भएको हो । उहाँले संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न पनि आग्रह गर्नुभयो ।

‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने ? म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु– यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु,’ कोइरालाले भन्नुभयो ।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने व्यवस्था छ भने उपधारा ३ मा संसदको ठूलो दलको संसदीय दल नेताको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को दल नेकपा माओवादी केन्द्रका सांसदहरूले ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका दाहालले संसदबाट विश्वास मत प्राप्त गर्न नसके उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहनु भएको छ तर सर्वोच्च अदालतका नजिरले सम्भव भएसम्म उपधारा २ अनुसार सरकार बनाउन बाधा नपुग्ने भनिसकेको छ ।

कोइरालाले आफूले धारा ७६ (३) को सरकार नखोजेको पनि बताउनु भयो । आफूले बोलेका कुराहरूलाई बङ्ग्याइएको उहाँको भनाई छ ।

‘मैले अस्ति केही कुरा गरेको थिएँ। त्यसलाई बङ्ग्याएर शेखर त ७६ (३) को सरकार खोजिराखेको हो कि भन्ने आभास तपाईंहरूलाई पनि भयो,’ कोइरालाले भन्नुभयो, ‘मैले सात-आठ महिनादेखि भनिरहेको थिएँ, स्थिरता दिनुपर्छ। तर कसैले विश्वास गरिरहेको थिएन। कांग्रेस र एमालेले ७६ को २ अनुसारकै सरकारमा जान्छ र राजनीतिक स्थायित्व दिन्छ, सँगसँगै सुशासन र संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्छौं। ’ नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गरेर जाने सहमति बनेको उहाँले बताउनु भयो ।