जनता टाइम्स

२८ असार २०८१, शुक्रबार १७:१९

प्रधानमन्त्री प्रचण्डले पाएनन बिश्वासको मत, दुईतिहाई बढी बिपक्षमा आएसँगै स्वत: पदमुक्त


काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधिसभामा आज राख्नुभएको बिश्वासको मतको बिपक्षमा दुई तिहाई बढी मत परेसँगै प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त हुनुभएको हो ।

आम निर्वाचनपछि नेकपा एमालेको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री दाहालले एमालेले नै समर्थन फिर्ता लिएपछि आज पाँचौं पटक संसदमा बिश्वासको मत लिनुभएको हो । एमालेबाट कांग्रेस र कांग्रेसबाट फेरि एमालेसँग समीकरण गर्दै बिश्वासको मत लिँदै आउनुभएका प्रधानमन्त्री दाहालले आज भने बिपक्षमा भारी बहुमतको सामना गर्नुपरेको छ ।

प्रतिनिधिसभामा आज भएको मतदानमा कुल २५८ जना उपस्थित भएकोमा प्रधानमन्त्री दाहालको बिपक्षमा १९४ मत परेको छ भने पक्षमा केवल ६३ मत परेको छ भने एक मत तटस्थ रहेको छ ।संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेपछि प्रधानमन्त्री दाहालको यस्तो दुर्दसा भएको हो ।

प्रधानमन्त्री दाहाललाई उहाँको दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मत दिएका छन । प्रधानमन्त्री दाहालको बिपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदले मतदान गरेका छन । यस्तै जनमोर्चाले पनि बिपक्षमा मतदान गरेको हो ।

यसअघि सत्ता पक्षमा रहेको जनमोर्चा नेपालले समेत प्रधानमन्त्रीलाई बिश्वासको मत दिएन । सो पार्टीका सांसद चित्रबहादुर केसीले बिश्वासको मत दिन लायक काम प्रधानमन्त्री दाहालले नगरेकोकारण नदिने बताउनु भयो ।

यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपासहितका अन्य साना दलहरूले प्रधानमन्त्री दाहालको बिपक्षमा मत दिएका छन । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएका दाहालले नियुक्त भएको १५ दिनपछि पहिलोपटक २०७९ पुस २६ गते बिश्वासको मत लिनुभएको थियो ।

पहिलो पटक प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये उहाँले दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसको झन्डै साढे दुई महिनापछि एमालेलाई आफैले धोका दिएर सरकारबाट हटन बाध्य पारेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गरेका थिए ।

कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ । पहिलो पटक बिश्वासको मत लिँदा २६८ मत पाउनु भएका प्रधानमन्त्री दाहालले यसपटक भने केवल  ६३ मत मात्र पाएर पदमुक्त हुनुभएको छ ।