जनता टाइम्स

३१ असार २०८१, सोमबार ०७:१७

पटक-पटक मृत्यूलाई छक्याएका केपी ओली : प्रतिवद्ध छन बनाउन नेपालीको सुन्दर भोली


संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला देशको ४५औँ प्रधानमन्त्रीका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । नेपाली राजनीतिको केन्द्र भागमा रहँदै आउनु भएका एक कुसल राजनीतिज्ञ राजनेता ओली २०८१ असार ३० गते आइतवार प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहँले आज बिहान ११ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणपछि मुलुकको ४५औं कार्यकारी प्रमुखका रुपमा कार्यभार सम्हाल्नु हुनेछ ।

प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आइतवार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएका एमाले अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आउनुभएको हो । संसद् विघटन र सर्वाेच्च अदालतमा रिट निवेदन परेका अवधिलाई गणना नगर्ने हो भने अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँलाई २०७८ असार २८ गते सर्वाेच्च अदालतको परमादेशमार्फत सत्ताबाट हटाइएको थियो । तीन बर्षपछि पुनः उहाँ सोही पदमा पुनःस्थापित हुनुभएको हो ।

विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा स्थापित हुनुहुन्छ । उहाँको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ । नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँले दोस्रोपटक सरकारको नेतृत्व गर्नुभएको थियो ।

त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष हुनुभयो । पार्टीभित्रको विवादका कारण उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिस सर्वाेच्च अदालतको आदेशबाट बदर भएपछि पुन अदालतकै परमादेशबाट अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिनु भएको थियो ।

निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिनु भएका ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्नुहुन्छ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मनु भएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुग्नुभएको थियो । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्कनुभएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गर्नुभएको थियो ।

तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गर्नुभयो । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित गर्यो । अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।

उहाँले लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेता हुनुहुन्छ ।

करिब ६ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताउनुभएका ओली २०७८ मंसिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल हुनुभयो । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गर्यो, उहाँहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ । मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उहाँ गिरफ्तारीमा पर्नुभयो ।

विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनुभएको थियो । सोही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको नेकपा एमाले हो ।
निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० साल असो २३ गते रौतहटबाट पक्राउ पर्नुभएको थियो । उहाँलाई बीरगञ्ज जेलमा राखी २०३० म)सिर ११ गते केन्दीय कारागार ल्याइ गोलघरमा हालियो । त्यसपछि उहाँले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताउनुभयो । जेल सार्ने बहानामा मार्ने योजना प्रहरीकै एक अधिकृतले तुहाइदिएको घटना ओली आफैले लेख्नुभएको संस्मरणमा उल्लेख छ ।

अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले) को संस्थापकको हैसियतमा हुनुभयो । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो । नेकपा माले समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष बन्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो । एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनुभयो । बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि सोही क्षेत्रबाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनुभयो । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उहाँ पोलिटब्यूरो सदस्यसहित विदेश विभाग र संसदीय विभाग प्रमुख हुनुभयो ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलोपटक मुलुकको गृहमन्त्री हुनुभयो । उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नुभएको छ । प्रहरीको मनोबिज्ञान बुझेर उचित निर्णय लिनसक्ने नेताको रुपमा उहाँलाई लिने गरिएको छ । जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण र बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीमा उहाँको प्रभाव थप विस्तारित भएको हो । सो प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गर्यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभयो । महाधिवेशनमा प्रतिनिधिले दिएको मतको बाकस नै साटेर भएपनि ओलीलाई पराजीत गरियो ।

दुईपटक मृगौला प्रत्यारोपण गराउनुभएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा मात्रै होइन, युवा नेता भन्दा पनि बढी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ । ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उहाँको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

दोस्रो पटक २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त हुनुभएका ओली चौथो पटक कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापित गर्दै चौथो पटक प्रधानमन्त्री बन्नुभएको हो । २०७१ साउनमा भएको एमाले नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर ओली पहिलो पटक अध्यक्ष निर्वाचित हुनुभयो । त्यसपछि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका ओली चौथो पटक मुलुकको कार्यकारी प्रमुख बन्नुभएको छ ।