जनता टाइम्स

३१ असार २०८१, सोमबार १९:४०

ओली सरकारको पहिलो निर्णय : कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान निर्माण, सरकारको प्रवक्तामा सञ्चारमन्त्री गुरुङ


काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३ सय दिनभित्र सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । पदभार ग्रहणपछि आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

नवनियुक्त प्रधानमन्त्री ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न खेल मैदान बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ ।

‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको’, बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।