जनता टाइम्स

२ श्रावण २०८१, बुधबार ०९:१४

साउन ६ बाट बागमतीबाट पनि सत्ताच्यूत हुँदै माओवादी, संसदको फेस गरेर सत्ता छाडने मुख्यमन्त्री जम्कट्टेलको निर्णय


हेटौंडा, साउन २ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मत लिन मुख्यमन्त्रीको सचिवालयले प्रदेशसभा सचिवालयमा पत्राचार गरेको हो ।

सत्ता साझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।