जनता टाइम्स

३ श्रावण २०८१, बिहीबार ०९:३२

बाढीले डाइभर्सन पुलमा क्षती पर्याएपछि गोरखा–आरुघाट सडक अवरुद्ध


गोरखा, साउन ३ । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न नसकेको वडाधयक्ष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सडक अवरुद्ध भएपछि सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।