जनता टाइम्स

३ श्रावण २०८१, बिहीबार १४:०३

बिष्णु पौडेलले अर्थको बागडोर सम्हालेपछि नेप्सेमा निरन्तर उछाल, २७ महिनापछि २४ सयको विन्दु पार


काठमाडौं, साउन ३ । आज कारोबार खुलेको २६ मिनेटमै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु छोएको छ ।

साताको अन्तिम कारोबारका दिन बिहीबार ११ बजेर २६ मिनेटमा नेप्सेले यो विन्दु भेटेको हो । नेप्सेमा यो परिसूचक करिब २७ महिनापछिको हो । यसअघि २०७९ वैशाख ११ गते नेप्से परिसूचक २४ सयको विन्दुमाथि पुगेको थियो । यस दिन परिसूचक २४२०.९१ विन्दुमा अडिएको थियो ।

सेयर कारोबार खुलेको २६ मिनेटमा ७५ लाख कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब बढीको कारोबार भएको थियो । साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो ।

मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो । भने, बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो । प्रमुख दुई दल कांग्रेस–एमाले गठबन्धनको सरकार र अर्थ मन्त्रालयको चाबी समन्वयकारी नेता विष्णु पौडेलको हातमा पुगेसँगै लगानीकर्तामा उत्साह थपिएको छ । केपी ओली प्रधानमन्त्री र पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेलगत्तैबाट नेप्सेमा हरियाली नै हरियाली छाएको हो ।