काठमाडौं, ४ साउन । काठमाडौंको ढलमा पोलियोको भाइरस भेटिएको छ । टुकुचा र बागमतीमा मिसिएको ढलमा पोलियोको भाइरस भेटिएको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । परिवार कल्याण महाशाखाले आज नेपालमा पोलियो रोगको अवस्थाबारे सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गर्दै नमुना परीक्षणको नतिजाबारे जानकारी दिइएको हो ।
कार्यक्रममा डा. गौतमले दिएको जानकारी अनुसार गत जेठ १३ गते काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाको संगमबाट नमुना लिइएको थियो । प्रयोगशाला परीक्षणको नतिजा असार २९ गते आएको थियो । यसमा पोलियोको भाइरस देखा परेको हो । उक्त पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न भाइरस रहेको डा. गौतमले बताउनुभयो ।
सोही स्थानबाट जेठ २२ गते लिइएको नमुनामा भने भाइरस देखिएन । नेपाललाई पोलियो रोगमुक्त देश घोषणा गरेको १० वर्षपछि भाइरस भेटिनु चिन्ताको विषय भएको उहाँले सनुाउनुभयो । सन २०१७ देखि नेपालमा ढलको नमुना लिई पोलियो भाइरस परीक्षण हुँदै आएको छ । काठमाडौं उपत्यकाका ५ ठाउँबाट नमुना लिएर महिनाको २ पटक परीक्षण गरिने गरेको र हाल हप्तैपिच्छे नमूना परीक्षण गर्ने उहाँले बताउनुभयो ।
उहाँले यसअघि काठमाडौंमा विशेष प्राथमिकता दिएर नमूना परिक्षण गर्ने गरिएको भएपनि वाग्मतिमा नै भाइरस देखापरेपछि सिंगो उपत्यकालाई नै निगरानीमा राखेर परीक्षण गर्ने गरिएको बताउनुभयो । त्यस्तै उपत्यकाबाहिर पोखरा, विराटनगर र जनकपुरको १–१ स्थानबाट नमुना लिएर महिनाको एक पटक पोलियो भाइरस परीक्षण हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्