बाजुरा, साउन ४ । सुत्केरी समस्यामा रहेकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सुत्केरी व्यथा लागेर बूढीनन्दामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी दमाईको अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनु भयो ।
प्रजिअ पौडेलका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवतीको अवस्था जटिल भएको पत्र प्राप्त भएपछि प्रशासनको समन्वयमा उक्त महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार पाँच वर्षयता ३८ जना बढी गर्भवती तथा सुत्केरीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुर्गमका गर्भवती र सुत्केरीको अवस्था जटिल भएमा उद्धार गरी उनीहरुको ज्यान बचाउने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा यसअघि गठन भएको सरकारले दुर्गमका महिलाको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु गरेको थियो । तात्कालिन राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको बिशेष पहलमा यो कार्यक्रम लागू गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्