जनता टाइम्स

६ श्रावण २०८१, आईतवार १४:४०

संसदको रोष्टमबाटै प्रधानमन्त्री ओलीको अठोट : देशलाई गलत बाटोतर्फ धकेल्ने गरी संबिधान संशोधन गरिने छैन


काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोतर्फ धकेल्नका लागि संबिधान संशोधन नगर्ने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधिसभामा आज पहिलो संशोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अठोट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा बिश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा आफू अगाडि बढनका लागि दृढ रहेको भन्दै पछाडि फर्कने वा ब्याक गियर लगाउने काम नहुने बताउनु भयो ।

‘संबिधान संशोधनको मुद्दामा हामीसँग दुई तिहाइ भए पनि त्यस मुडमा हामी छैनौं । हामी सवैले मिलेर संबिधान बनाएका हौं । सवैले मिलेर संशोधन गरेका छौं । अव पनि सवैको सहमतिमा संशोधन गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गलत बाटोतर्फ देशलाई धकाल्नका लागि संबिधान संशोधन गरिने छैन । संबिधान संशोधनमा सिंगो देश एकमत हुनेछ, राष्ट्रिय सहमति कायम हुने छ भन्ने मलाई बिश्वास छ ।’

उहाँले कांग्रेस र एमालेले नै मुलुकलाई यहाँसम्म ल्याएको तथ्य राख्दै यही दलमाथि नाजायज आक्षेप लगाउने कामको दह्रोसँग प्रतिवाद गर्नुभयो । उहाँले भन्नुभयो, ‘डेमोक्रेसी भन्ने कुरा कस्ले सुनायो ? यही कांग्रेस–एमालेले सुनाएको होइन ? संबिधान कस्ले बनायो ? यही कांग्रेस–एमालेले होइन ? अनि तिनीहरुले नै संबिधान सिध्याउँछन भन्ने ? अनि कस्ले बचाउँछ त त्यसो भए ? आफूले भनेको कुरा नभए पश्चगमनको पोशाक लगाइ दिने हाम्रो प्रचलन छ । त्यो भ्रममा नपरौं ।’