गणेश बस्नेत/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाई भन्दा बढी सांसदको समर्थन पाउनु भएको छ । प्रतिनिधिसभामा आज भएको बिश्वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीलाई दुईतिहाइभन्दा बढी सांसदले समर्थन गरेका हुन ।
आज भएको मतदानमा प्रधानमन्त्री ओलीमाथि बिश्वास छ भन्ने पक्षमा १८८ मत परेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा आज भएको मतदानमा २६३ सांसदले भाग लिएका थिए । जसमध्ये प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत परेको हो ।
प्रधानमन्त्री ओलीको बिपक्षमा केवल ७४ मत परेको छ । दुई तिहाईका लागि १८४ मत आवश्यक पर्छ । प्रधानमन्त्री ओलीले त्यो भन्दा बढी मत पाउनु भएको हो । दुईतिहाईभन्दा बढी सांसदको बिश्वासको मत पाएसँगै प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखका रुपमा उदाउनु भएको छ ।
प्रतिनिधिसभाको प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सहमतिअनुसार प्रधानमन्त्री ओली गत असार ३० गते नेपालको संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री ओलीले असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हाल्नु भएको हो । संबिधानको धारा ७६ (२) अनुसनर नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभाबाट बिश्वासको मत लिनुपर्ने ब्यवस्थाअनुसार आज प्रतिनिधिसभामा बिश्वासको मत लिनुभएको हो ।
प्रधानमन्त्री ओलीलाई सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले मतदान गरेका छन । यस्तै दुई जना स्वतन्त्र सांसदले पनि पक्षमा मतदान गरेका छन । यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पक्षमा मतदान गर्नुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीको बिपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन । आजपाका प्रभु साहले पनि बिपक्षमा मतदान गर्नुभयो । यस्तै मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । सभामुख देवराज घिमिरेले भने मतदानमा भाग लिनुभएन । उहाँ नेकपा एमालेबाट निर्वाचित सांसद हुनुहुन्छ । सभामुख तटस्थ हुने भन्दै उहाँले मतदानमा भाग नलिनु भएको हो ।
यसअघि बिश्वासको मत लिने क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रमममा प्धानमन्त्री ओलीले भन्नुभयो, ‘नजानेर कुनै गल्ती हुन सक्ला तर जानीजानी गल्ती अहिलेको प्रधानमन्त्रीले गर्दैन, हुन सक्दैन भन्ने बचन दिन चाहन्छु ।’ यस्तै उहाँले परारको साल बनेको पार्टीले संबिधानको जिम्मा र लोकतन्त्र ल्याएको जिम्मा लिन नपर्ने आफूहरुले नै लिने र गर्व गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्