काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताउनुभएको छ । हिन्दू नारीहरूको पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीत ‘नाचिदेउ कान्छी’ सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले कर्णाली प्रदेशको विकासका लागि त्यहाँकै सरोकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशकै सर्जकहरूको हातेमालो र एकताले गीत बनाउन सफल भएजस्तै अन्य क्षेत्रको विकासका लागि पनि यस्तै सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
‘हाम्रो कर्णाली कसैले आएर बनाउँछ भन्ने सोच्दै छौँ भने त्यसलाई त्यागौँँ, हामीले नै हो त्यहाँको प्रगति गर्ने । त्यसैले कमजोरी र त्रुटी सच्याउँदै नयाँ सङ्कल्पका साथ कर्णालीलाई उन्नति, प्रगतिको शिखरमा अगाडि बढाउन एकता, सहकार्य र सद्भाव आवश्यक छ’, उपसभापति खड्काले भन्नुभयो । गीत सङ्गीत पनि समाज विकासको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुहुँदै उहाँले प्रस्तुत गीतसँग जोडिएका सबै सर्जकहरूको प्रशंसा गर्नुभयो ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली संस्कृतिको धनी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘आफ्नो ठाउँ र भूगोललाई यस्तै गीत सङ्गीतको माध्यमले चिनाउनुपर्छ । कर्णालीले संस्कृति र साहित्यमा देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्छ । त्यसैले कर्णालीका बारेमा निर्मित नकारात्मक भाष्यलाई यस्तै कामहरूबाट चिर्नुपर्छ ।’ गीतका रचनाकार डा महेन्द्रकुमार मल्लले मौलिक गीत तयार गर्ने कोसिस गरेको बताउनुभयो ।
‘तीज गीतमा पर्वको मौलिकता र चेलीको हर्षलाई प्रस्तुत गरेको छु । यो नयाँ पुस्तालाई नचाउने र पुराना पुस्तालाई कर्णालीको ठेट गीतको बारेमा चिनाउने गरी तयार गरिएको छ’, उहाँले भन्नुभयो । रचनाकार डा मल्लले आगामी दिनमा फरक सन्दर्भका गीतमार्फत शब्द रचनालाई निरन्तरता दिने बताउनुभयो । गीतमा शिव सङ्गीतले स्वरसँगै सङ्गीत भर्नुभएको छ भने गायनमा गायिका सिम्रन परियारले साथ दिनुभएको छ । जीवनकुमार ज्ञवालीले तयार गर्नुभएको गीतको श्रव्यदृश्यमा मोडल विपाशा चदराले अभिनय गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्