भक्तपुर, ७ साउन ।
‘साँझको जुनसँगै, आउँछौँ तिमी भनेर,
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर
तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु…।’
अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २५औँ स्मृति दिवसका अवसरमा भक्तपुरको थिमिमा ‘अरुण थापा स्मृति साँझ–२०८१’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शकदीर्घा नतमस्तक बन्यो । भक्तपुर साङ्गीतिक समाजले स्व गायक थापाको २५औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको ‘स्मृति साँझ’मा दर्शकहरू सिमसिम पानीको पर्वाह नगरी नतमस्तक हुँदै विभिन्न गायक गायिकाको स्वरमा अरुण थापालाई सम्झिरहेका थिए ।
गायक थापाका ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध…।’ जस्ता कालजयी गीत गुञ्जिँदा गायक अरुण थापा आज पनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभास दिएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताउनुभयो । कार्यक्रममा कुमारी लिम्बूले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमि हाँसी दिनु’, विजय कायष्थले ‘चोट के हो, व्यथा के हो, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरि सुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरी दाहालले ‘दोष कसलाई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमी’ बोलको गीतहरू गाउनु भएको थियो ।
यसैगरी मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगैं’, रुची घिमिरेले ‘दुई दिनको, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’, प्रनिल पलिखेलले ‘भुलेका कथा तिता मीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत गाएर स्वर्गीय गायक थापा प्रति श्रद्धा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजले उनलाई अरुण थापा स्मृति सम्मान २०८१ बाट वरिष्ठ पप गायक ओम विक्रम विष्टलाई सम्मान गरेको छ । समाजका निर्वतमान अध्यक्ष प्रविण शाहीले समाजलाई स्थापनाकालदेखि अनवरत रूपमा योगदान दिए वापत विष्टलाई सम्मान गरिएको बताउनुभयो ।
पप गायक ओमविक्रम विष्टको सम्मानमा कुबेर राईले ‘मौनतामा अल्झिरहेको’, सकुल अच्छामीले ‘को हो त्यो जसले मलाई’, राजेश शाहीले ‘मेरो याद अझै आउँछ भने’, विनोदराज ढुङ्गेलले ‘तारा मारङ बजार कि कान्छी’ र प्रविण शाहीले ‘आवाज देऊ मलाई’ बोलको गीत गाउनु भएको थियो । समाजले बाल गायककार अर्पण विश्वकर्मालाई नेशनल गट ट्यालेन्ट हण्ट’ मा उत्कृष्ट प्रस्तुति दिन सफल भएकामा प्रोत्साहनस्वरुप नगद रु पाँच हजारसहित ‘सम्झना खरेल प्रतिभा पुरस्कार’ प्रदान गरेको उहाँले बताउनुभयो ।
अरुण थापाका चर्चित गीतहरू
विसं २००९ मा जन्मिएका गायक थापाका सर्वोत्कृष्ट गीतमध्ये सन् २००३ मा बिबिसी विश्व सेवाले गरेको सर्वेक्षणमा उनको गीत ‘ऋतुहरूमा तिमी…’ उत्कृष्ट सातौँमा परेपछि उनको चर्चा विश्वमै चुलियो । उहाँले जीवनको छोटो समयमा पनि अत्यधिक चर्चामा रहेका कालजयी गीत गाउनुभयो ।
उहाँका ‘जति माया लाए पनि’, ‘साँझको जुनसँगै’, ‘भुँलुँभुलुँ लाग्यो मलाई’, ‘बितेका मेरा तीता मीठा’, ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौँ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’जस्ता मुटु रेटेर गाएको आभास हुने कालजयी गीत छाडेर उनले नेपाली गीतसङ्गीतलाई ठूलो गुन लगाउनुभएको वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले बताउनुभयो ।
विसं २०५६ साउन ५ गते काठमाडौँ बागबजारको कान्तिपुर गेस्टहाउसको एउटा कोठामा अन्तिम श्वास फेरेका गायक थापाले छोटो जीवनमा मगर भाषाको एउटा गीतसहित करिब ४४ वटा गीत गाउनुभएको उहाँले बताउनुभयो । थापाले गाएको गीतको संगालो ‘अरुण’ र ‘बेस्ट अफ अरुण थापा’ नामक दुई वटा गीति एल्वम सार्वजनिक छन् । ‘अरुण थापा स्मृति प्रतिष्ठान’ले सहयोग सङ्कलनगरी निर्माण गरेको उनको सालिक २०६६ चैत २८ गते झम्सिखेलमा स्थापना गरेपछि भने यो ठाउँको नाम अरुण थापा चोकले नामकरण भएपछि आज पनि त्यही चोकमा उहाँको सालिक देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्