काठमाडौं, साउन १० । बुधवार बिहान भएको सौर्य एयरलायइन्सको बिमान दुर्घटनामा परी चालक दलका सदस्य रहनुभएका कोपाइलट सुशान्त कटुवालको निधन भयो । क्याप्टेन मनिष शाक्यबाहेक बिमानमा रहेका १८ जनाकै मृत्यू भयो ।
पाइलट शाक्यसँगै रहनुभएका कटवालको भने ज्यान गयो । बिमान दुर्घटनामा ज्यान गुमाउनेमा सौर्य एयरका १६ जना कर्मचारी रहेका छन । उक्त जहाज दुर्घटनामा ज्यान गुमाउनु भएका कोपाइलट कटुवाल क्याप्टेन हुने लाइनमा रहनुभएको थियो ।
दुई वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रुपमा सेवा सुरु गर्नुभएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किनुभएको थियो । २७ वर्षीय कटुवाल परिवारको एक्लो सन्तान हुनुहुन्थ्यो । बुवा र आमा विराटनगरमा बस्ने गर्नुभएको थियो । सुशान्त कोपाइलट भएपछि बुवाआमा पनि छोरासँगै बस्न भक्तपुर आउनु भयो ।
पुर्ख्यौली घर ओखलढुंगा भए पनि विराटनगरमा बस्दै आउनु भएका कटुवाल परिवार सुशान्त कोपाइलट भएपछि मात्रै भक्तपुर आएको हो । कटुवालको घर विराटनगर महानगरपालिका ३ आयल निगमपूर्व उदय मार्गमा रहेको छ । परिवारका एक्लो साहारा नै दुर्घटनामा मृत्यु भएको खबर थाहा पाएपछि बुवाआमा बिछिप्त बन्नुभएको छ ।
सुशान्तको मृत्युको खबरपछि बुवाआमा भने मानसिक रुपमा विक्षिप्त र बेहोसी अवस्थामा रहेको आफन्तले बताएका छन् । सुशान्त पाइलट बनेपछि मात्रै बिवाह गर्ने योजनामा रहनुभएको थियो । तर त्यो योजना कहिल्यै पूरा नहुने भएको छ । उहाँ बुधवारको बिमान दुर्घटनासँगै यो धर्तीबाट अस्ताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्