भक्तपुर, साउन १० । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंँदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । केही महिनाभित्रै सीमा समस्या सुल्झाउने तयारीसहित चार स्थानीय तहका जनप्रतिनिधीहरु छलफलमा जुटेका हुन ।
यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’ समिति गठन गरिएको थियो । समितिले अनुगमन निरीक्षण गरी सीमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाएपछि छिट्टै समस्या सुल्झाउने गरी अआवश्यक तयारी थालिएको हो ।
काभ्रेको मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाका अनुसार समितिले बुझाएको प्रतिवेदनको आधारमा सीमा समस्या सुल्झाउन चार वटै नगरका जनप्रतिनिधिले तीन पटक संयुक्त छलफल गरिएको छ । तीन महिनाभित्र सीमा समस्या समाधान गर्न चारै नगरका जनप्रतिनिधिले तयारी गरेको वाइबाले बताउनु भयो ।
नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा भक्तपुरको चाँगुनारायण र काठमाडौंको शङ्खरापुर नगरपालिकाको सङ्गमस्थल हो । नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौं, काभ्रे र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो । मण्डनदेउपुर प्रमुख वाइबाका अनुसार समितिले सीमा समस्या समाधानका उपाय र विकल्पलाई आधार मानी तयारी थालिएको छ ।
समितिले समाधानको विकल्पमा विसं २०१७-१८ मा गरिएको नापीलाई आधार मान्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको वाइबाको भनाई छ । उहाँका अनुसार समितिको प्रतिवेदनकै आधारमा समस्या समाधन गर्ने तयारीमा जनप्रतिनिधि लागेका छन । सोहीअनुसार दुईदेखि तीन महिनासम्ममा समाधानतर्फ लाग्ने उहाँको भनाई छ ।
नगरकोटका ठूला होटलले सार्वजनिक जग्गा हड्पी भवन बनाएर होटल सञ्चालन गरेको विषयमासमेत विवाद हुँदै आएकाले सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले दुई वर्षअघि चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाईवासहितको टोलीबीच सहमति भ्एको थियो ।
विसं २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने निर्णय गर्दै गुरुयोजना निर्माण गर्न दुवै नगरले १०-१० लाख बजेटसमेत विनियोजन गरेका थिए । नगरकोटको जमिन होटल रिसोर्ट तथा अन्य व्यक्तिले मिचेको विषयमा दुई नगरले नापी कार्यालयको सहयोगमा आन्तरिक अनुमगन निरीक्षण गरिरहेको वाइबाले बताउनुभयो । उहाँका अनुसार पहिला दुई जिल्लाको सीमा समस्या समाधान गरेपछि आ–आफ्नो जिल्लाको नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा जमिन हडपेको विषय खोजी गर्ने सहमति भएको छ ।
यसअघि नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले सार्जवनिक जग्गा दुरुपयोगबारे संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबीचको विवाद समाधान गरिएको थियो ।
भक्तपुरस्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको प्रतिवेदन अनुसार नगरकोटमा सञ्चालित होटलमध्ये वन तथा सार्वजनिक जग्गा क्लब हिमालय होटलले १३ रोपनी अतिक्रमण गरिएको जनाइएको छ । त्यसैगरी द फोर्टले पाँच रोपनी, रूपेस माउन्टेनले एक रोपनी, होटल भ्यू प्वाइन्टले दुई रोपनी र मधुवन होटलले एक रोपनी जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । लस्ट होराइजन, घर छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतले जग्गा अतिक्रमण गरेको जनाइएको छ ।
नगरकोट काठमाडौँ उपत्यका नजिक ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित प्रसिद्ध रमणीयस्थल हो । समुद्री सतहदेखि दुई हजार ७५ मिटर उचाइमा नगरकोटबाट धौलागिरि हिमशृङ्खलादेखि कञ्चनजङ्घा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमालका साथै सर्वोच्च शिखर सगरमाथाको दृश्य हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्