ताप्लेजुङ, साउन १० । ताप्लेजुङमा रहेको मुलुककै प्रतिष्ठित एवं प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा चार करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रूपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मन्दिरमा दर्शन गर्न आएका दर्शणार्थीबाट साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड छ लाख ४३ हजार एक सय ७२ रुपैयाँ भेटी सङ्कलन भएको छ ।
यस्तै पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार पाँच सय रुपैयाँ र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रुपैयाँ भेटी सङ्कलन भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिनुभयो । पाथीभरामा मुख्य पूजापाठ चैते दसैंको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । कार्यकारी निर्देशक हाङवाङका अनुसार चैत मात्र ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ रुपैयाँ र असारमा १६ लाख ८८ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक बर्ष (आव) मा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका छन । भक्तजनको सहयोगबाटै सो परिमाणको भेटी संकलन भएको हो ।
प्रतिक्रिया दिनुहोस्