काठमाडौं, १० साउन । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज ११ः१३ बजे दुर्घटनामा परेको थियो । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार गरिएको थियो । उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो ।
पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ । बुधबारसाँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलट शाक्यलाई भेट गरेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिनुभएको थियो । उहाँले शाक्यको परिवारसँग समेत भेट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्