जनता टाइम्स

१० श्रावण २०८१, बिहीबार २०:०२

काम नै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस !


सिरहा, १० साउन । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमत्तोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिकोलागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडकवती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाईएको हो । आर्थिक वर्ष २०८०/०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यकोलागी १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो ।

असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसंग २० प्रतिशत कमिशनमा कोटेसन मार्फत काम गराएको एक व्यबसायीले नै बताउनुभयो । यो मात्र होईन अरुपनि योजनाहरु सम्पन्न नगरी उहाँले कार्यसम्पन्नताको सिफारिस दिनुलेपनि वडा अध्यक्ष र व्यसायीविच आर्थिक सेटिङको पुष्टि हुन्छ । वडा अध्यक्ष यादवले कमिशनकै लागि अन्तिम समयमा योजना संशोधनगरी कोटेशनमा काम गराएको वडा नम्वर ४ का रविन्द्र साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो । यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ ।’

काम सम्पन्न नगरी व्यवसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्यसम्पन्नताको सिफारिसदिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन् । सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेशनमा लागाएको छ । कोटेशनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भईनसक्दै उहाँले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ । तर, वडा अध्यक्ष यादवले काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोख्नुभएको थियो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत, मध्ये यस आथिर्क मशान्त मा २ वटा को रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, धन्यवाद छ नगर प्रमुख ज्यु र तपाई को असल प्रशंसनिय कार्यलाई।’ यता, सडक वत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जनाउनुभयो ।

प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आएको सुनेको भएपनि भुक्तानीको विषयमा आफूले नबुझेको बताउनुभयो । काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ ? भनी जिज्ञासा राख्दा केसीले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिस दिनु नै गैर कानुनी भएको र वडाले सिफारिस गरेको छ भन्ने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको बताउनुभयो । वडाले १० लाखको लागतमा १६० थान सडक वत्ती जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्विकार गर्छु । काम अहिलेपनि जारी नै छ । ठेक्केदारलाई छिटै सकाउन भनेको छु ।’ काम सम्पन्न नै नगरी रकम निकासा गरिएकोबारे जिज्ञासामा वडा अध्यक्ष यादवले रकम निकासा नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘रकम निकासा गरीएको छैन । समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफारिस गरी फाईल १८ नम्वरमा राखिएको छ ।’ असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भईसकेको योजनाको फाईल १८ नम्वरमा जाने गरेको जानकारहरु बताउँछन् । तर काम नै नगरेको फाईल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको बुझाई छ ।