काठमाडौं, साउन १० । बुधवार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सय फिट माथि पुगेपछि बिमान कन्ट्रोल गर्न नसकेको जानकारी दिनुभएको छ ।
बिमान दुर्घटनामा परी घाइते हुनुभएका क्याप्टेन शाक्यले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारकै क्रममा सो जानकारी दिनुभएको हो । ‘करिव १०० फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ,’ शाक्यले भन्नुभयो । उहाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताउनु भयो ।
प्राडा थापाका अनुसार क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको छ । ‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ थापाले भन्नुभयो ।
दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले आज विज्ञप्ति निकालेरै जानकारी गराएको हो । घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाउनु भएको थियो ।
क्याप्टेन शाक्यले चिकित्सकहरुसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०–१०० फिटमाथि पुर्याएपछि आफूले नियन्त्रण गर्न नसकेको बताउनु भएको हो । बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएकोछ भने क्याप्टेन शाक्य घाइते हुनुभएको छ ।
‘जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०–१०० फिट माथि गएको थियो । त्यसपछि कन्ट्रोल गर्न सकिनँ । छिनमै जहाज तल झर्यो, मचाहिँ कता–कताबाट बाहिर निस्किएँ,’ क्याप्टेन थापाको भनाई उधृत गर्दै चिकित्सकले भने ।
प्रतिक्रिया दिनुहोस्