जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार ०७:४६

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्री ओलीको बधाई, यस्तो छ महिला नेतृत्व स्थापित गर्ने चार संयोग


काठमाडौं, साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिला लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला हुनुभएकामा बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीका अध्यक्षतामा बुधवार भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बिहीवार बसेको मन्त्रिपरिषद बैठकले गडतौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै महिला नेतृत्व स्थापित गराउने सवालमा प्रधानमन्त्री ओलीको काममा एउटा नयाँ रेकर्ड थपिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै प्रस्तावमा पहिलो महिला राष्ट्रपतिका रुपमा बिद्यादेवी भण्डारी निर्वाचित हुनुभएको थियो । यस्तै पहिलो महिला प्रधानन्यायाधीशका रुपमा सुशिला कार्की, पहिलो महिला सभामुखका रुपमा ओनसरी घर्ती मगर र पहिलो महिला मुख्यसचिवका रुपमा गडतौला हुनुभएको हो ।

यी चारवटै महिला नेतृत्व स्थापित गराउन ओलीको भूमिका रहेको छ । प्रधानमन्त्री अओलीले आफ्नो सकारात्मक पहलमा भएको यी चार संयोगले खुसी लागेको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें। आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ।’

यस्तो छ प्रधानमन्त्रीको कुरा
देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवि गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !!

शुभ बिहानी !
सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें। आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ।