भक्तपुर, ११ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पुर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी बिकल्प खोज्ने बेला आएको बताउनुभएको छ । राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य ब्यबस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गर्नुभयो ।
व्यक्ति परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । ड्राइभर फेरेर ,बस परिबर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिबर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेतिथी र बिकृतीको अन्त्य गर्न राप्रपा नेपालले अबलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गर्नुभयो । बेरोजगारी समस्या, धर्मपरिबर्तन, आर्थिक मन्दी, भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सहि गति लिन नसक्ने भन्दै थापाले बिदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएकोसमेत बताउनुभयो ।
पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानू पर्ने भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । पार्टीको महाधिवेशनलाई समय सिमामा सक्न संरचना निर्माण, इकाई कमिटी गठन पुनर्गठनकार्य गर्न समेत थालाले आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रममा डाक्टर बिष्णु भण्डारी र राजाराम बर्तौला ‘चुनेली’ ले समेत प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्