जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १४:४०

शाहीको आरोपबारे सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै महराको स्वास्थ्य बिग्रिएपछि


काठमाडौं, असोज २३ । संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि सभामुख पदबाट मुक्त भई पक्राउ पर्नुभएका कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ । प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्य अवस्था खराब भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको हो । महरालाई केही बेर अघि प्रहरीले अस्पताल पुर्याएको हो ।

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभाव जस्ता समस्याबाट पीडित महराको यसअघि पनि स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था शुक्रबार विहानदेखि झनै बिग्रिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य अवस्था बिग्रिए पनि महरा भने अस्पताल जान मानेका थिएनन् ।

उपचारका लागि अस्पताल जान नमानेपछि हिरासतमै अक्सिजन दिइएको थियो । उनले आज विहानसम्म पनि उपचारका लागि अस्पताल जान मानेका थिएनन् । संसद सचिवालयमा कार्यरत शाहीले बलात्कारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा रहेका छन् । उनी महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका छन ।

सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि महरालाई अस्पताल लगिएको हो । उनलाई सिंहदरवारस्थित प्रहरी हिरासतबाट आजै बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको थियो । महरा पहिलेदेखि नै विरामी रहेका थिए । त्यसैले उनको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । साथै अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

आजै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा महरालाई बयानसमेत लिइएको थियो । सरकारी वकिल कार्यालयबाटै उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।