जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार १९:२७

कार्यक्रममा समावेश हुन थालेको आठ वर्षपछि ठेक्का सम्झौता


म्याग्दी, ११ साउन । म्याग्दीको बृहत् घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको आठ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा विसं २०७३ देखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका छ वडाका दुई हजार पाँच सयभन्दा बढी परिवारलाई लक्षित गरी निर्माण गरिने भनिएको आयोजना हालै ठेक्का सम्झौता भएपछि निर्माणको चरणमा प्रवेश गरेको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले रु ३५ करोड ६३ लाख ३९ हजार सात सयभन्दा बढी लागत अनुमान गरिएको योजना जिएटिआरसी–प्यागोडा–सासा जेभीसँग रु २८ करोड ५० लाख १२ हजार सात सय ५५ मा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । छवटा निर्माण कम्पनी सहभागी ठेक्का प्रतिस्पर्धामा योग्य ठहर भएका पाँचमध्ये सबैभन्दा कम रकम कबोल गरेको कम्पनीसँग विसं २०८१ असार २४ गते सम्झौता भएको हो ।

आयोजना विसं २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाका लागि गत आवमा रकमान्तरसहित आएको रु दुई करोड ८० लाख र यस यसवर्ष रु तीन करोड विनियोजन गरिएको छ । बेनी–५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको आयोजनाको निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।

योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र सङ्घीयता कार्यान्वयनपछि जिल्लासभाले म्याग्दीको गौरवको आयोजनाको सूचीमा राखेको छ । दुई हजार तीन सय ६९ घरधुरीमा खानेपानी वितरण हुने आयोजनामार्फत १६ हजार एक सय ८६ जनसङ्ख्या लाभान्वित हुने आयोजनाका इञ्जिनियर नवीन सुवेदीले बताउनुभयो । ठेक्का सम्झौता गरेका व्यवसायीले पाइपलगायत निर्माण सामग्री खरिद गरेका र आगामी भदौ महिनादेखि काम थाल्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई ट्याङ्कीमा सङ्कलन गरेर पाइपमार्फत पाखापानी र त्यहाँबाट झी, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले बताउनुभयो । मुहान, ७६ दशमलव २९ किलोमिटर मुख्य र ८६ दशमलव २४ किलोमिटर वितरण पाइपलाइन, पानी प्रशोधन पलान्टलगायतका संरचना ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । आयोजनामा उपभोक्ताहरूको १० प्रतिशत लागत सहभागिता रहनेछ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुुनिश्चितता भएपछि करिब एक दशकको प्रयासमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उल्लेख गर्नुभयो । ‘रु ४८ करोड लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुन सकेको थिएन’, उहाँले भन्नुभयो,‘गत फागुनमा अर्थ मन्त्रालयले रु ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।’