जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार २०:०२

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा


काठमाडौं, ११ साउन । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गएराती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिनुभएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उहाँको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । ‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको, उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्,’ विज्ञप्तिमा भनिएको छ ।