जनता टाइम्स

१३ श्रावण २०८१, आईतवार १८:३३

कांग्रेस र नेकपा एकीकृत समाजवादीका चर्चित नेता एमाले प्रवेश


काठमाडौं, साउन १३ । नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस नेता थापालाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो । थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगर पनि एमाले प्रवेश गर्नुभएको छ ।

कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताउनु भयो। महासचिव पोखरेलले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्याउनु पर्ने बताउनु भयो ।

महासचिव पोखरेलले ६–६ महिनामा मन्त्री फेरिने अवस्थाले देश कसरी बन्छ ? भन्ने प्रश्न गर्दै राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताउनु भयो । राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले बार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा पनि पोखरेलको छ ।

महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताको शुभकामना दिनुभयो । पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विनाशर्त एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो । थापाले पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै सात वर्ष अघिसम्म एमालेमै रहेर काम गरेको स्मरण गरी पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताउनु भयो ।

नेकपा एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जिल्ला कमिटीको अधिवेशन यता उदयपुरमा विभिन्न दलका २७२ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गराएको जानकारी दिनुभयो ।