जनता टाइम्स

१३ श्रावण २०८१, आईतवार १८:३९

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक छ : एमाले महासचिव पोखरेल


काठमाडौं, साउन १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा धेरै पार्टी भन्दा पनि बलिया राजनीतिक पार्टी आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापालाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा एमालेमा स्वागत गर्दै पोखरेलले धेरै पार्टी हुँदा कुनै पनि एउटा दललाई बहुमत प्राप्त नहुने र देश अस्थिरता तर्फ जाने बताउनुभयो ।

देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न र देशमा नै अवसर सिर्जना गर्न धेरै पार्टी होइन बलिया पार्टी चाहिएको बताउनुभयो ।

एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्न सबै राष्ट्रवादी र प्रगतिशील शक्तिलाई एमालेमा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी २०८४ को निर्वाचनमा एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने अवस्थामा पुर्‍याउने गरी लाग्नु पर्ने उहाँको भनाइ छ ।

पोखरेलले ६-६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताउनुभयो । त्यसैले देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उहाँको धारणा छ ।

राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबिच प्रतिस्पर्धाको वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो । यो भयो भने साना दलले बार्गेनिङ गर्ने र अस्थिरता मच्चाउने प्रवृत्ति अन्त्य हुने पोखरेलको भनाइ छ ।