काठमाडौं, साउन १३ । नेकपा माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अपांगता भएका गणेश राईसहितका कर्मचारीहरुलाई आफूले हटाउने भूमिका नखेलेको बताउनु भएको छ ।
जनताटाइम्स डटकमम राईलाई हटाउन भूमिका खेलेको प्रकाशित समाचारप्रति असमहति जनाउँदै मल्लले आफूले सो काम नगरेको बताउनु भएको हो । ‘गणेश राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा छोटो ओएनएम गरेर दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने सहमति भएको हो,’ मल्लले खण्डनपत्र पठाउँदै भन्नुभएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै कर्मचारी प्रशासनमा सुशासन सुरु गर्ने त्यसको लागि प्रधानमन्त्री कार्यालय आराम गर्ने थलो नबनाई सेन्टर फर एक्सिलेन्स बनाउने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम सर्वे) गरियो ।’
मल्लको खण्डन जस्ताको तस्तै
नेपाल सरकारको सचिवको नेतृत्वमा बनेको समितिले पेश गरेको प्रतिवेदन क्याबिनेटबाट पास भयो। त्यतिबेला करारका कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने छलफल भई उनीहरुलाई अस्थायी दरबन्दीमा राखी काम लगाउने र स्थायी दरबन्दीको जनशक्ति अन्यत्र ब्यवस्थापन गर्नेगरि निकास दिन सकिने तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल र प्रशासन हेर्ने सचिव गणेशप्रसाद पाण्डेले बताउनुभएको थियो ।
प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिव र प्रशासन सचिवको बहिर्गमनपछि कर्मचारीको नयाँ नेतृत्वले यसको व्यवस्थापनमा जटिलता आउने बताउनुभयो। यो विषयले सबैभन्दा बढी तत्कालीन सम्माननीय प्रधानमन्त्री तथा अध्यक्ष कमरेड प्रचण्डलाई छोयो । मैले प्रधानमन्त्री कार्यालयको बैठक बोलाउन सुझाव दिए ।
यसको दीर्घकालीन हल खोज्न प्रम कार्यालय, अर्थ मन्त्रालय र संघीय मामला मन्त्रालयका मन्त्री र सचिवसहितको बैठक बालुवाटारमा बस्यो । हालका मुख्यसचिव लिलादेवी गडतौला, प्रम कार्यालयका सचिव कृष्णहरि पुष्कर, अर्थ सचिव र संघीय मामला तथा सामान्य प्रशासन सचिव उक्त बैठकमा सहभागी हुनुहुन्छ ।
त्यस बैठकमा हाललाई उहाँहरु गणेश राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा छोटो ओएनएम गरेर दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने सहमति भएको हो । यदि यो कुरा कसैले गलत भन्छ भने मसँग छलफलको रेकर्ड सुरक्षित छ । आक्समिकतामा हामी सरकारबाट बाहिरियौ, यसको व्यवस्थापन गर्ने दायित्व सरकारको हो। यसमा नौटंकी गर्नुको कुनै अर्थ छैन ।
अहिले ‘प्रचण्डले हटाएका गणेश राई ओलीले राखे’, ‘रमेश मल्लले हटाको थियो गणेशलाई’ जस्ता गम्भिर आरोपमार्फत भावनात्मक सद्भाव बटुल्ने र हामीमाथि हिलो छ्याप्ने कोशिस गरिएको छ। तसर्थ, भ्रामक प्रचारबाट मुक्त भई सत्य सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गर्दछु ।
– रमेश मल्ल
प्रतिक्रिया दिनुहोस्