जनता टाइम्स

१४ श्रावण २०८१, सोमबार १५:१०

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले फिर्ता लिए आफ्नो नाम


काठमाडौं, १४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यसअघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो । यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिनुभएको थियो भने उहाँले उजुरी पनि दिनुभएको थियो । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताउनुभएको थियो । यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो ।