काठमाडौं, साउन १४ । संसदीय सुनुवाइ बिशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।
सोमबार बसेको समितिको बैठकले प्रधान निर्वाचन आयुक्तमा अयोग्य रहेको ठहरसहित उहाँको नाम अस्वीकार गरेको हो । सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिनुभएको थियो । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उहाँको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् । समितिले उजुरीकर्ता महिला र प्रधानसँग पनि यसबारेमा छलफल गरे पनि निर्णय गर्न ढिलाइ गरिरहेको थियो ।
सोमबार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको छलफलले प्रधानको नाम अनुमोदन गर्न नसक्ने निश्कर्ष निकालेको थियो । त्यसपछि प्रधानले आफैं नाम फिर्ता लिएर संसदीय समितिको सचिवालयमा निवेदन दिनुभएको थियो ।
अन्तिममा त्यसै निवेदनलाई आधार बनाएर समितिले प्रधानको नाम अनुमोदन नहुने निर्णय गरेको हो । यौन दुर्ब्यवहारको घटना बढदै गएपछि प्रधान आयुक्तमा अयोग्य बन्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस्