दाङ, साउन १५। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको प्रष्ट पार्नुभएको छ ।
प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
उहाले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको बताउनु भयो।
´राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो । त्यसको अन्त्य गर्न संबिधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गर्ने जानकारी दिनुभयो ।
सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्