जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १०:३६

भारतमा जस्तै नेपालमा पनि नोटाम, दुई घण्टा विमानस्थल बन्द


काठमाडौं, असोज २४

चिनियाँ राष्ट्रपति सी चीनफिङको भीभीआईपी उडानका कारण शनिबार र आइतबार नोटाम जारी गरिएको छ । चिनियाँ राष्ट्रपति आउदा र जादाको समयमा दुई घण्टा विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।

भारतको चेन्नई विमानस्थलमा पनि भारतले नोटाम जारी गरिसकेको छ । त्यहा पनि दुई घण्टा उडान बन्द हुनेछ । अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपालले पनि नोटाम जारी गरेको हो । जसका कारण दर्जनौं अन्तर्राष्ट्रिय उडान डिले हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई बजे उडान भरेर सोझै काठमाडौं आइपुग्नु हुनेछ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार हुने उडानबारे शुक्रबार बिहान नोटाम (नोटिस टू एयरमेन) जारी हुने बताउनु भयो । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि सार्नुपर्छ ।

चिनियाँ राष्ट्रपति सी दुइटा जेट विमान बोइङ ७४७–८ मा काठमाडौं आउन लागेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ । शनिबार आइपुग्ने ती दुई विमान आइतबारमात्रै चीन फर्कने छन् । काठमाडौं विमानस्थलमा एक पटकमा नौवटा मात्रै जेट विमान एप्रोनको पार्किङमा राख्न सकिन्छ । चिनियाँ राष्ट्रपतिका दुइटा जेट विमानले ६ वटा जहाजको पार्किङ क्षेत्र ओगट्ने भएपछि दुई दिनमा दर्जनौं अन्तर्राष्ट्रिय उडानको तालिका धकेलिने भएको हो ।

चिनियाँ राष्ट्रपतिको उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले शनिबार र आइतबार दुई दिन चौबिसै घण्टा विमानस्थल खुला राख्ने निर्णय गरेको छ ।