जनता टाइम्स

१६ श्रावण २०८१, बुधबार १८:५९

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन


काठमाडौं, १६ साउन । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउनुभयो । ‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उहाँले भन्नुभयो, ‘वितरणको संख्या एक दम कम भयो । अरु सबै कुरा ठीक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौं । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताउनुभयो । ‘नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रधान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ,’ उहाँले भन्नुभयो । साथै जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन थियो ।

‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने मलाई लाग्छ । तर, जेष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौं । जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔं,’ उहाँले भन्नुभयो । राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरुले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो ।

‘अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छे भन्दा पनि दिने मान्छेले पहल लिन्छ । वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिदिनुपर्यो भनेर घर–घर जान थाल्नुहुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ,’ उहाँले भन्नुभयो । राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । ‘यसलाई तपाईहरु अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउनुहोस् । हामी सम्बन्धित निकायमा पठाएर अगाडि बढाएर लैजान्छौं,’ उहाँले भन्नुभयो ।