कास्की, साउन १६ । नेकपा एमालेले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ ।
एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले बुधवार विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको सङ्लग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा गम्भीर आपत्ति जनाउँदै त्यस्तो निर्णय नलिन सचेत गराउनु भएको हो । एमालेले दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन हुने हुँदा सहमति विपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको हो ।
केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकार गठन, पुनःगठन भइरहेका बेला एकपक्षीय रूपमा गतिविधि भएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा कांग्रेससहित नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री हुनुहुन्छ । केन्द्रमा सत्तासमीकरण परिर्वतन भएर नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बने पनि गण्डकी प्रदेश सरकार एमाले सहभागी भएको छैन ।
मुख्यमन्त्री पाण्डे तिनै दुई सांसदलाई मोहोरा बनाएर सत्ता गठबन्धनबिरुद्ध सञ्चालित भएपछि एमालेले सचेत गराएको हो ।
प्रतिक्रिया दिनुहोस्