काठमाडौं, साउन १७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउनु भएको हो । सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूलाई निरन्तर सुझाव दिइरहन आग्रह पनि गर्नुभएको छ ।
‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’
एमाले केन्द्रीय सचिवालय आजको बैठकमा नेताहरुको कार्यबिभाजन हेरफेरको एजेण्डा रहेको छ । एक बर्षअघि एमालेले फरक भूगोलमा एक बर्षका लागि कार्यबिभाजन गरेको थियो । आजको बैठकबाट सो निर्णय परिवर्तन गरी नयाँ कार्यबिभाजन गर्न लागिएको हो ।
केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे एमालेको सचिवालय बैठक बस्न लागेको हो । एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बस्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्