काठमाडौं, साउन १८ । नेकपा एमालेले प्रचार र जनसंगठनको संयन्त्रलाई प्रदेश तहबाट खारेज गरेको छ । बिहीवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टी स्कूल बिभागलाई प्रदेश तहसम्म यथावत राखेर यसअघि कायम गरिएको प्रचार र जनसंगठन समन्वय संयन्त्रलाई भने खारेज गरेको हो ।
गत बष २०८० जेठमा बसेको एमाले सचिवालय बैठकले प्रदेश तहसम्म पार्टी स्कूल, जनसंगठन समन्वय र प्रचार संयन्त्र बनाउँदै संयोजन गर्ने गरी कार्यबिभाजन गरेको थियो । बिहीवारको बैठकले भने कामको मूल्यांकणको आधरमा उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख रहनुभएका पार्टी स्कूल बिभागलाई मात्रै प्रदेश तहमा कायम राखेको हो ।
सचिवालय बैठकले सोहीअनुसार प्रदेश पार्टी स्कूलको संयोजन गर्न जिम्मेवारी तोकेको छ । जसअनुसार कोशीमा परशुराम मेघी गुरुङ, मधेशमा अच्यूतप्रसाद मैनाली, बागमतीमा इश्वरी रिजाल, गण्डकीमा टुकराज सिग्देल, लुम्बिनीमा भागवत बिश्वासी, कर्णालीमा राजबहादुर बुढा क्षेत्री र सुदुरपश्चिम प्रदेशको पार्टी स्कूल संयोजनको जिम्मेवारी राजेन्द्रसिंह रावललाई दिइएको छ । पार्टी स्कूलमा संयोजनको जिम्मेवारी तोकेर जनसंगठन र प्रचार संयन्त्रलाई भने खारेज गरिएको छ ।
जनसंगठन र प्रचार संयन्त्रले काम गर्नुको साटो गुटबन्दीलाई बढावा दिने काम गरेको निश्कर्षसहित एमाले सचिवालयले खारेज गरेको एक नेताले जनताटाइम्स डटकमलाई जानकारी दिए । ती नेताका अनुसार दुवै संयन्त्रले काम गर्नेभन्दा जनसंगठनमा बिवाद ल्याउने र नेता र पार्टी नीतिकै बिरुद्ध प्रचार गराउने काम भएको ठहरसहित खारेज गरिएको हो । एमालेले पार्टी स्कूलमा भने संयोजनको जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्