काठमाडौं, साउन १९ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई नयाँ दिशा दिन कांग्रेससँग सहकार्य अनिवार्य बनेको प्रष्ट पार्नुभएको छ ।
ताप्लेजुङ सरोकार केन्द्रले आज काठमाडौंमा आयोजना गरेको पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले देश अप्ठेरो स्थितिमा रहेको बेलामा कांग्रेस–एमाले मिल्ने गरेको प्रष्ट पार्नुभयो ।
‘अहिले देशका दुई ठूला पार्टी एमाले र कांग्रेस सरकारमा बसिरहेका छौं । मुलुकलाई केही नयाँ दिशा दिन नै हामीले यो प्रयत्न गरेका छौं । देशलाई धेरै प्रयोगशाला नबनाऔं, पटकपटक प्रयोगशाला हुँदै आयो, अब त्यसो नगरौं भनेरै सहकार्य गरेका हौं,’ पूर्वमन्त्रीसमेत रहनुभएका एमाले सचिव भट्टराईले भन्नुभयो, ‘दुई पार्टी प्रतिस्पर्धी पनि हौं र इतिहासका निर्माता पनि हौं । इतिहासको कठिन मोडमा देशलाई निकास दिन अग्रसर भएका पार्टी हौं, शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा हामी एक ठाउँमा आएका छौं र मुलुकलाई सही दिशा दिएका छौं ।’
भट्टराईले कांग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको बताउँदै अर्थतन्त्रलाई लयमा फर्काउने कार्यभार रहेको बताउनु भयो । नेपालको राजनीतिक व्यवस्थालाई अगाडि बढाउन संविधान संशोधन गर्नेसमेत उहाँले बताउनु भयो । ‘नेपालको राजनीतिलाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ संशोधन गर्नुपर्नेछ । यसका लागि कांग्रेस र एमालेले अग्रसरता लिए पनि संसदमा भएका नभएका राजनीतिक पार्टीहरुलाई समेत साथ लिएर अगाडि बढ्दैछौं,’ भट्टराईले भन्नुभयो ।
कार्यक्रममा डा. सुन्द्रुक रइतले पनि आफ्नो जन्मभूमि ताप्लेजुङको बारेमा सबिस्तार चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्