काठमाडौं, साउन १९ । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ ।
करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चार मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतीय च्यानलले नेपाल सरकारमाथि दवाव दिन यो काम गरेका हुन ।
‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । २०७९ चैत १५ गतेदेखि उल्लेखित च्यानलहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ ठाकुरले भन्नुभयो ।
च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकारपछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए ।
सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब बिदेसी रुपैयाँ विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्