जनता टाइम्स

१९ श्रावण २०८१, शनिबार २२:११

प्रदेश राजधानी दाङमा नबस्ने मुख्यमन्त्री आचार्यको संकेत, पुनःस्थापना गरे महराले हटाएको बुटवलको सम्पर्क कार्यालय


बुटवल, साउन १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः संचालनमा ल्याउनु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो। ०७४ सालदेखि सञ्चालनमा रहेको यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाउनु भएको थियो ।

दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिएपनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

‘बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि छ, पहिले यहाँ हुँदा धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुन्छ, प्रदेश प्रमुखसँग पनि विभिन्न समयमा आइरहनुपर्छ त्यसका लागि पनि यहाँ आवश्यक देखियो’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘म हरेक शुक्रबार नियमित यहाँ आउँछु, शनिबार पूरै यहाँको काम गर्नेछु, शुक्रबार साँझको समय र आइतबार बिहानको समय गरी यो क्षेत्रका सेवाग्राहीलाई यहीबाट सेवा दिने व्यवस्था मिलाएको छु, म नहुँदा पनि एक जना सचिवालयका कर्मचारी राख्ने व्यवस्था हुनेछ।’

यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री आचार्यको यो कदमलाई प्रदेश राजधानी दाङमा नबस्ने संकेतका रुपमा लिइएको छ ।