मुम्बई, साउन २० । विवादित टिभी शो बिग बोसमा पटक पटक ‘स्क्रिप्टेड’ (पहिले नै कथा तयार) भएको आरोप लाग्ने गरेको छ । धेरै पूर्वप्रतियोगीहरूले शो पहिले नै स्क्रिप्ट गरिएको दाबी गरेका छन।
अब यो सूचीमा ‘द ग्रेट खली’को नाम पनि परेको छ । बिग बोसबारे खुलासा गर्दै खलीले यो शोको स्क्रिप्ट पहिल्यै लेखिने बताएका हुन् । सरदारको टेक नामको पोडकास्टमा खलीले बिग बोसको बारेमा भने, ‘सबै शोहरू स्क्रिप्टेड छन्। यो शोको स्क्रिप्ट पनि छ । शोमा आएपछि के गर्ने भनेर सबैले बताउँछन्। म भन्छु सारा संसार स्क्रिप्टेड छ। आजकल विवाह पनि स्क्रिप्टेड छ।’
डब्ल्यूडब्ल्यूईको बारेमा सोधिएको प्रश्नमा पनि खलीले यसको स्क्रिप्ट पनि पहिले नै तय गरिने बताए । रेस्लर ‘द ग्रेट खली’ वाइल्ड कार्डमार्फत बिग बोस सिजन ४ मा प्रवेश गरेका थिए । यो सिजन सन् २०१० मा प्रसारण भएको थियो। शोका बाँकी तीन प्रतियोगीसँगै उनी पनि शोको अन्तिम सातासम्म पुगेका थिए । उनी उक्त सिजन उपविजेता बनेका थिए ।
बिग बोसको घरबाट बाहिरिएपछि खलीले शोको बारेमा यसअघि पनि धेरै खुलासा गरेका थिए । उनले एक अन्तर्वार्तामा बिग बोसमा प्रतियोगीहरूले गर्ने कामहरू योजनाबद्ध हुने र जनतालाई देखाउन र टीआरपी बढाउन, यो सबै लाइभ गरिने बताएका थिए। उनका अनुसार शोमा हुने सबै कुरा स्क्रिप्टेड हुन्छ जसमा प्रतियोगीहरूले अभिनय गर्नुपर्छ ।












प्रतिक्रिया दिनुहोस्