जनता टाइम्स

२२ श्रावण २०८१, मंगलवार १०:०४

वाणिज्य बैंकहरूको आम्दानीमा सुधार हुँदा वितरणयोग्य मुनाफामा संकुचन : कुन बैंकको कति ?


काठमाडौं, साउन २२ । आर्थिक वर्ष ०८०/८१ मा वाणिज्य बैंकहरूको आम्दानीमा सुधार आए पनि लगानीकर्तालाई लाभ दिने क्षमतामा भने ह्रास आएको छ । सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार बैंकहरूको आम्दानीमा प्रमुख हिस्सा ओगटेको ब्याज आम्दानीमा सुधार आउँदा समग्र आम्दानी बढेको हो ।

बिवरणअनुसार ब्याजमा लाग्ने खर्च कटाएपछिको २० वटा बैंकको खुद ब्याज आम्दानी एक खर्ब ९२ अर्ब १२ करोड ८५ लाख पुगेको छ । गत आव ०७९/८० मा यस्तो आम्दानी एक खर्ब ८६ अर्ब ६ करोड ३६ लाख रुपैयाँ थियो ।

त्यस्तै, ०८०/८१ मा ब्याजसँगै अन्य आम्दानीसमेत जोडिएको खुद सञ्चालन आम्दानी दुई खर्ब एक अर्ब २५ करोड रहेको छ । आव ०७९/८० मा खुद सञ्चालन आम्दानी एक खर्ब ७३ अर्ब ६६ करोड थियो । आम्दानीमा भएको सुधारले खुद नाफामा पनि वृद्धि भएको छ । ०८०/८१ मा २० वटै वाणिज्य बैंकहरूको खुद नाफा ६४ अर्ब एक करोड ७४ लाख पुगेको छ । ०७९/८० मा यस्तो नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ मात्रै रहेको थियो ।

आम्दानीमा भएको वृद्धिले बैंकहरूले तिर्ने आयकरमा पनि वृद्धि भएको छ । आव ०७९/८० मा २५ अर्ब ९६ करोड रुपैयाँको आयकर तिरेका बैंकहरूले आव ०८०/८१ मा २९ अर्ब २६ करोड ९६ लाख रुपैयाँ आयकर तिरेका छन । नाफा बढाए पनि बैंकहरूको वितरणयोग्य मुनाफा भने घटेको बिवरणले देखाएको छ । आव ०८०/८१ मा बैंकहरूको औसत वितरणयोग्य मुनाफा ३८ करोड ११ लाख छ । आव ०७९/८० मा यस्तो मुनाफा ८१ करोड २० लाख थियो । समीक्षा अवधिमा प्रतिसेयर वितरणयोग्य मुनाफा औसतमा ९.५५७ प्रतिशतबाट ७.०१५ प्रतिशतमा खुम्चिएको छ । २० मध्ये चार वाणिज्य बैंक मुनाफा वितरण गर्नै नसक्ने अवस्थामा छन ।

एनआइसी एसिया, हिमालयन बैंक, कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । हिमालयन बैंकको वितरणयोग्य मुनाफा पाँच अर्ब ७८ करोड ४६ लाखले ऋणात्मक छ । आव ०७९/८० मा तीन अर्ब २४ करोड २६ लाख ऋणात्मक थियो । एनआइसी एसिया बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ३० करोड ४० लाखले ऋणात्मक छ ।

जबकी अघिल्लो आवमा तीन अर्ब ५३ करोड ४२ लाखले धनात्मक रहेको थियो । सोमवार सार्वजनिक भएको बिवरण अनुसार एनआइसी एसिया बैंकको अवस्था सवैभन्दा दयनीय देखिएको छ । एनआइसी एसियाको अवस्था निकै चिन्ताजनक मान्नुपर्ने बैंकरहरुको तर्क छ । कुमारी बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ७८ करोड ८९ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ४३ करोडले ऋणात्मक छ ।

बैंकहरूले गत आर्थिक वर्षमा सर्वाेच्च अदालतबाट मुद्दा हारेपछि करिब १३ अर्बको फर्दर पब्लिक अफरिङ (एफपिओ)को प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबापतको कर एकैपटक तिर्नुपरेको थियो । त्यस्तै, कर्जा असुलीमा समस्या आएकाले निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ ।

निष्क्रिय कर्जाका लागि कर्जा नोक्सानी व्यवस्थाबापतको रकम बढाउनुपर्दा वितरणयोग्य मुनाफा खुम्चिएको हो । ०८०/८१ मा बैंकहरूको औसत निष्क्रिय कर्जाको अनुपात ३.५३७ प्रतिशत छ । आव ०७९/८० मा यस्तो अनुपात ३.००९ प्रतिशत रहेका थियो । आर्थिक शिथिलताले उद्योगधन्दा थिलथिलो बनाइरहेका वेलामा बैंकहरूको आम्दानीलाई सन्तोषजनक मान्नुपर्ने तर्क बैंकरहरूको रहेको छ ।

कुन बैंकको वितरणयोग्य मुनाफा कति ?

प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफामा सुधार देखिएको छ । आव ०७९÷८० मा दुई अर्ब २३ करोडले ऋणात्मक देखिएको प्रभुको वितरणयोग्य मुनाफा आव ०८०/८१ मा एक अर्ब २२ करोडले धनात्मक बनेको छ ।

यस्तै प्राइमको एक अर्ब ८६ करोडले सुधार आएर एक अर्ब १९ करोड वितरणयोग्य मुनाफा पुगेको छ । कृषि विकास बैंकको यस्तो मुनाफा एक अर्ब ४१ करोडले सुधार आएर दुई अर्ब ६६ करोड २७ लाख पुगेको छ । नेपाल बैंकले ७६ करोड ९३ लाख वितरणयोग्य मुनाफा पुर्याएको छ । नबिल बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ८५ करोड पुगेको छ भने नेपाल एसबिआई बैंकको एक अर्ब १३ करोड पुगेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा तुलनात्मक रूपमा सुधार आए पनि तीन अर्ब ४३ करोडले ऋणात्मक नै छ । सबैभन्दा बढी वितरणयोग्य मुनाफा भएका बैंकहरूमा नबिल, एभरेष्ट, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक छन । एभरेष्टको यस्तो मुनाफा तीन अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्डको दुई अर्ब ४९ करोड र सानिमाको एक अर्ब ४१ करोड रुपैयाँ छ ।