काठमाडौं, साउन २३ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरणबारे केन्द्रीय समिति बैठकमा सबिस्तार जानकारी दिनुभएको छ । आज बसेको बैठकमा गृहमन्त्री लेखकले सरकारको अहिलेसम्मको सरकारको कामबारे जानकारी गराउनु भएको हो ।
बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गर्नुभएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट कांग्रेसले धोका पाएर कांग्रेस विपक्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले सुजबुझपूर्ण रूपमा दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिएको बताउनु भयो ।
’कांग्रेस सबभन्दा ठूलो हुँदा हुँदै पनि संघ मात्र होइन, सातै प्रदेशमा विपक्षमा बस्नुपर्ने परिस्थिति पार्टीका साथीहरूका लागि, सबै लोकतन्त्रवादी जनताका लागि पीडादायी विषय भयो । पछिल्लो समयमा पार्टी सभापति माननीय शेरबहादुर देउवाजीले अत्यन्त सुजबुझ राखेर दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिनुभयो । हामी नयाँ समीकरणमा लागौं,’ लेखकले भन्नुभयो ।
एमालेसँग पटक पटकको वार्ता र संवादबाट असार १७ गते कांग्रेस र एमालेबीचमा नयाँ समीकरण बनाउने सहमति भएको थियो । ’सात बुँदे सहमति पत्रमा माननीय शेरबहादुर देउवा र माननीय केपी शर्मा ओलीजीले हस्ताक्षर गर्नुभयो । त्यसपछि यो सरकार बन्ने मार्गप्रशस्त भयो । हामीले सरकार गठन गर्यौं,’ लेखकले भन्नुभयो । गृहमन्त्री लेखकले बैठकमा कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि भएको सात बुँदे सहमति पढेर सुनाउनु भएको थियो ।
उहाँले वर्तमान सत्ता सरकारका सबल पक्ष भन्दै थप्नुभयो, ’राष्ट्रिय स्वार्थको सुरक्षा गर्ने, स्थिर सरकार दिने, शिथिल रहेको अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणका काम द्रूत गतिमा अगाडि बढाउने, भ्रष्टाचार नियन्त्र गरी सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने, देशभित्र र बाहिरको लगानीको वातावरण बनाएर मुलुकमा मर्यादित रोजगारीको व्यवस्था गर्ने लगायतका सम्भावना छन् ।’
देशमा दिगो शान्ति, विकास, समृद्धि प्राप्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने सुदृढ गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । कांग्रेस–एमाले समीकरणले संविधान संशोधन गर्ने पनि उनले बताउनु भयो । ’संविधान जारी भएको नौ वर्ष भइसकेको छ । यस अवधिमा संविधान अभ्यासको प्रयोगमा देखापरेका सबल र दुर्बल पक्षको समीक्षा गरेर, जटिलता पहिचान गरी आवश्यकता अनुसार सहमतिकै आधारमा संविधान संशोधन गर्ने लगायतका कुरा छन,’ उहाँले भन्नुभयो ।
कांग्रेस–एमाले समीकरण असफल भए मुलुक दुरावस्थामा जाने खतरा रहेको भन्दै उहाँले थपे, ’त्यसैले अहिलेको समीकरण बदल्ने, फेर्ने, भत्काउने काममा हामी लाग्नु हुँदैन । कांग्रेस केन्द्रीय कार्यसमिति पनि दृढतापूर्वक यसका पक्षमा उभिनुपर्छ ।’ कांग्रेस–एमाले समीकरण बनेपछि सकारात्मक प्रभाव र परिणाम देखिएको उहाँले बताउनु भयो । उहाँका अनुसार बुधबारै संक्रमणकालीन न्याय सम्बन्धी विषय शान्ति प्रक्रियाको टुंगिन बाँकी रहेका बेपत्ता पारिएकाको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन संशोधन गर्ने विधेयकको ऐतिहासिक ’ब्रेक थ्रू’ गरिएको छ । ठूला राजनीतिक दलहरू मिल्दा मुलुकमा बलियो सरकार हुने र त्यसले आत्माविश्वास बढाउने उहाँको भनाइ थियो ।
सत्ता समीकरणमा सबै कुरा सहज ढंगले अगाडि बढेको दाबी गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ’केन्द्रमा हामीले सरकार बनायौं। मन्त्रालयकै लागि भागबण्डा र कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा महिनौं झगडा हुन्थ्यो । हामीले अत्यन्त कम समयमा मन्त्रालयको बाँडफाँट टुंग्याएर मन्त्रीको नियुक्त गर्यौं । सातै प्रदेशमा पनि कुनै विवादबिना सरकार निर्माण गर्यो ।’
अरू केही नियुक्ति पनि बिनाविवाद आपसी सहमतिमा टुंग्याएको उहाँले बताउनु भयो । अहिले कांग्रेस र एमालेबीच असल सम्बन्ध भएको भन्दै उहाँले समीकरणमा विश्वासको वातावरण भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्